काठमाडौं
सिन्धुपाल्चोक जुगल–७ का २३ वर्षीय कराते खेलाडी विवेन्द्र तामाङले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नै स्वर्णपदक जित्दै नेपाली करातेमा सुखद सुरुवात गरेका छन्।थाइल्यान्डको राजधानी बैंककमा फेब्रुअरी १५ मा सम्पन्न ‘थाइल्यान्ड अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप कप–२०२६’ मा नेपाल सोतोकान कराते डो संघ (SKDUN) मार्फत नेपालको प्रतिनिधित्व गरेका तामाङले ५५ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन्।
तामाङले प्रतियोगिताको पहिलो चरणमा भारतका खेलाडीलाई, दोस्रो चरणमा आयोजक थाइल्यान्डका खेलाडीलाई तथा तेस्रो चरणमा संयुक्त अरब इमिरेट्स (यूएई) का खेलाडीलाई पराजित गर्दै अन्तिम प्रतिस्पर्धामा आफ्नै टोलीका सुशील लामालाई हराउँदै स्वर्णपदक विजेता बने।
विगत १२ वर्षदेखि अध्ययनसँगै कराते खेलमा निरन्तर संघर्ष गर्दै आएका तामाङका लागि यो सफलता विशेष बनेको छ। पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण जित्न सफलताले आफूलाई आगामी दिनमा अझ मेहनत र आत्मविश्वासका साथ खेल क्षेत्रमा अघि बढ्ने प्रेरणा मिलेको तामाङले मातृभुमी आवाजलाइ जानकारी दिनुभयो।
९ राष्ट्रका खेलाडी सहभागी प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र १ काश्य गरी कुल ५ पदक जित्न सफल भएको छ।
नेपालका लागि विवेन्द्र तामाङ (५५ केजी) र मिङमार तामाङ (८०+ केजी) ले स्वर्ण जिते भने सुशील लामा (५५ केजी) र निरमाया तामाङ (५० केजी) ले रजत तथा सुदर्शन बन्जारा (८०+ केजी) ले काश्य पदक जितेका छन्।
विवेन्द्रको यो उपलब्धिले अन्तर्राष्ट्रिय करातेमा नेपालको सम्भावना मात्र उजागर गरेको छैन, सिन्धुपाल्चोकको खेल प्रतिभालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा चिनाएको छ।





तपाईको प्रतिक्रिया